चलचित्र ‘चिट्ठी’को भावनात्मक मोसन पोष्टर सार्वजनिक
काठमाडौँ — बहुप्रतिक्षित नेपाली चलचित्र ‘चिट्ठी’ को मोसन पोष्टर सार्वजनिक गरिएको छ। निर्देशक माधव राज खरेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको पोष्टरले फिल्मको कथावस्तुमा रहेको संवेदनशीलता, सामाजिक विरोधाभास र भावनात्मक उतारचढावको झलक दिन्छ।
पोस्टरको आरम्भमा पुरानो ढाँचाको रेडियो र एउटा माइसहितको प्रसारण स्टुडियो देखिन्छ, जसले सञ्चारको भूमिकालाई संकेत गर्छ। लगत्तै क्यामेराको लेन्स र माइक देखाइन्छ, जसले पत्रकारितासँग सम्बन्धित कथावस्तुलाई दर्शाउँछ। त्यहाँ देखा पर्ने पात्रहरूको हाउभाउ र अनुहारमा प्रकट हुने द्वन्द्व, पीडा र रहस्यले चलचित्रको कथाको गहिराइलाई स्पस्ट पार्छ।
मोसन पोष्टरमा देखिने मूख्य पात्रहरू — युवापुस्ताका पत्रकार, बिचौलिया, मानसिक सन्तुलन गुमाएका व्यक्ति र रहस्यमयी आत्माको झलकले दर्शकलाई कौतुहलतापूर्ण यात्रातर्फ डोर्याउँछ। ‘पत्र’ अर्थात चिट्ठीको आगमनले घटनाहरूलाई मोड दिन्छ भन्ने सन्देश यसमा प्रष्ट रूपमा संकेत गरिएको छ।
चलचित्र ‘चिट्ठी’ भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशव्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रमा हास्य, रहस्य र सामाजिक यथार्थलाई समेटिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न बाध्य बनाउनेछ।
Comments
Post a Comment